फार्मको स्थान

पाल्पा जिल्लाको खस्यौली गाविस हिरापोखरामा ४०० रोपनी जग्गामा फैलिएको फार्मले बाख्रा ब्रिडिङ सेन्टरका साथमा गाईपालन र तरकारी तथा “हर्ब्स” र फलफुल खेती गरिरहेको छ। स्वदेशी तथा विदेशी पाहुनाहरूलाई लक्षित पाहुनाघर (होमस्टे) सञ्चालित छ, जहाँ फार्ममै उत्पादित खानेकुराहरूलाई प्राथमिकता दिइन्छ। यहाँ उत्पादित दूध, दही, पनिर, चीज जस्ता शाकाहारी खाना, मासुका विविध परिकार तथा स्थानीय रक्सीले पाहुनाको स्वागत गरिन्छ। सिजन अनुसारको फलफुल यहाँको विशेषता हो। पाल्पाबाट अर्घाखाँची जाने पिच रोडबाट १ किलोमिटर भित्र गाडी जान सक्ने यस फार्मको वरिपरि वस्ती नभएकाले यो निकै शान्त छ।

चितवन, पोखरा र लुम्बिनीलाई एक चक्कर लगाउँदा यो फार्म महत्त्वपूर्ण गन्तव्य हुनसक्छ। चितवन (सौराहा) बाट ४ देखि ५ (१७० किमी), पोखराबाट ४ देखि पाँच (११४ किमी) र लुम्बिनीबाट ३ घण्टा (९४ किमि) तथा भैरहवाबाट करिब (७९किमी) २.५ घण्टामा पाल्पाको सदरमुककाम तानसेन पुग्न सकिन्छ जहाँबाट सृजना फर्म १३ किलोमिटर पश्चिममा पर्छ। सिद्धार्थ राजमार्ग (पोखरा-सुनौली)बाट यात्रा गर्दा भने बर्तुङबाट पाल्पाको सदरमुकाम तानसेन (४ किमी) हुँदै १७ किलोमिटर टाढा रहेको यस फार्ममा पुग्न सकिन्छ।